काठमाडौं । चीनको दक्षिण–पश्चिमी सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) अन्तर्गत केरुङ (ग्याइरोङ) काउन्टीमा आगामी दिनमा वर्षा बढ्ने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ।
पूर्वानुमानअनुसार आइतबारदेखि सोमबारसम्म केरुङमा हल्कादेखि मध्यम वर्षा हुने र मंगलबार रातिदेखि मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाइएको छ।
गत अगस्ट २६ मा चीन–नेपाल सीमावर्ती केरुङ नाकामा पहिरो गएर उद्धार तथा राहत कार्य जारी रहेकै बेला थप वर्षाको पूर्वानुमान सार्वजनिक भएको हो। वर्षाका कारण पहिरो तथा अन्य भूगर्भीय विपद्को जोखिम थप बढ्न सक्ने भन्दै सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको छ।
चीनको प्राकृतिक स्रोत मन्त्रालय र चीन मौसम विज्ञान प्रशासनले आइतबार साँझ ६ बजे संयुक्त रूपमा भूगर्भीय विपद् जोखिमसम्बन्धी ‘येलो अलर्ट’ जारी गरेका छन्। चीनको चार तहको चेतावनी प्रणालीमा येलो अलर्ट तेस्रो स्तरको चेतावनी हो।
उक्त चेतावनीअनुसार आइतबार राति ८ बजेदेखि सोमबार राति ८ बजेसम्म केरुङसहित दक्षिणी सिजाङका केही क्षेत्रमा भूगर्भीय विपद्को जोखिम उच्च रहनेछ।
निरन्तर वर्षा र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मौसम अधिकारीहरूले आगामी केही दिन केरुङ नाका क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।