काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरे।
गत भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरे।
सिंहले सामाजिक सञ्जाल एक्समार्फत पनि बाढीमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाल र भारतबीचको निकट सम्बन्धको चर्चा गर्दै उनले भारतलाई नेपालको ‘सुख दुःखको साथी’का रूपमा प्रस्तुत गरेका छन्।
सिंहले कठिन परिस्थितिमा पनि भारत नेपाली जनतासँग काँधमा काँध मिलाएर उभिएको बताउँदै खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएका छन्।