काठमाडौं । २०औं एसियन गेम्सको तयारीका लागि नेपालका दुई स्केटिङ खेलाडी एक महिनाको प्रशिक्षण गर्न थाइल्यान्ड जाने भएका छन्।
नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अनुसार गजेन्द्र बर्देवा र शरदकुमार राईले बैंककस्थित हुआ मक स्केट पार्कमा थाइल्यान्डको राष्ट्रिय टोलीसँग संयुक्त प्रशिक्षण गर्नेछन्। उनीहरू प्रशिक्षक विजय तामाङसँगै शुक्रबार बैंकक प्रस्थान गर्ने तालिका छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिहीबार आयोजित कार्यक्रममा सदस्यसचिव रामचरित्र मेहता र संघका महासचिव सत्य थापाले टोलीलाई बिदाइ गरेका थिए।
त्यस अवसरमा सदस्यसचिव मेहताले खेलाडीलाई उच्च मनोबलका साथ एसियाडको तयारी गर्न आग्रह गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीको एक वर्षको बीमा गरिने जानकारी दिए। खेलाडीलाई आवश्यक सुविधा उपलब्ध गराउन राखेप प्रयासरत रहेको पनि उनले बताए।
संघका महासचिव थापाका अनुसार बैंककमा खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रशिक्षकको व्यवस्था गरिएको छ। एक महिनापछि प्रशिक्षणलाई त्यहीँ निरन्तरता दिने वा नेपाल फर्कने भन्ने विषयमा निर्णय हुनेछ। प्रशिक्षणको अनुगमनका लागि थापा पनि एक सातापछि बैंकक जाने कार्यक्रम छ।
सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने २०औं एसियन गेम्समा बर्देवा र राईले स्ट्रिट विधामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।