काठमाडौं । नेपालको कृषि तथा खाद्य प्रणाली सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना सुरु भएको छ ।
सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा परियोजनाको शुभारम्भ गर्दै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको बताए । चीन र नेपालबीचको ऐतिहासिक सम्बन्ध तथा भौगोलिक सामीप्यले कृषि क्षेत्रमा सहकार्य विस्तारको पर्याप्त सम्भावना रहेको पनि उनले बताए ।
अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकायअन्तर्गतको ‘ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोअपरेसन फण्ड’मार्फत सञ्चालन हुने परियोजना संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र नेपाल सरकारको साझेदारीमा कार्यान्वयन हुनेछ ।
राजदूत माओमिङले यसअघि चीनको सहयोगमा ललितपुरको खोकनामा चिनियाँ तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेतीलगायत कार्यक्रम सञ्चालन भएको उल्लेख गर्दै ती कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढाउन योगदान दिएको बताए ।
‘चीनले विश्वको केवल ९ प्रतिशत खेतीयोग्य जमिन र ६ प्रतिशत स्वच्छ पानीको स्रोत प्रयोग गरेर विश्वको झन्डै २० प्रतिशत जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन सफल भएको छ । कृषि आधुनिकीकरण र गरिबी निवारणमा हासिल गरेको अनुभव तथा प्रविधि नेपालसँग साझा गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने ।
परियोजनाले प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानमार्फत नेपाली कृषकको क्षमता अभिवृद्धि गर्दै कृषि क्षेत्रको उत्थानशीलता बढाउने लक्ष्य राखेको छ । यसले सन् २०३० सम्मका संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्नुका साथै नेपाल–चीन मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।