काठमाडौँ ।नेपाल सरकारको मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे तथा प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।
नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियुक्तिपत्र हस्तान्तरण गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षबाट उच्चस्तरीय कार्यसम्पादनको अपेक्षा रहेको बताए। सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी नेतृत्व प्रदान गर्न सक्ने विश्वासका आधारमा उनीहरूलाई छनोट गरेको उल्लेख गर्दै उनले नियामक निकायहरूले आफ्नो संवैधानिक र कानुनी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए।
मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिल नेपालको भूमिका महत्वपूर्ण रहेको बताए। पछिल्लो समय गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौती बनेको उल्लेख गर्दै उनले यस्ता समस्याको पहिचान गरी समाधानमुखी ढंगले अघि बढ्न आवश्यक रहेको बताए।
उनले सञ्चार क्षेत्रलाई संस्थागत रूपमा बलियो बनाउन सके त्यसको प्रत्यक्ष लाभ सञ्चार जगतलाई नै पुग्ने उल्लेख गर्दै प्रेस काउन्सिलले आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्ने धारणा राखे। साथै, पुराना कानुनलाई समयानुकूल संशोधन गर्ने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिँदै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकमाथि छलफल जारी रहेको बताए।
प्रेस काउन्सिललाई अझ सक्षम, जिम्मेवार र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री तिमिल्सिनाले चुनौतीपूर्ण समयमा दुवै नियामक निकायको नेतृत्व सम्हालेका अध्यक्षहरूलाई कानुन र विधिको सीमाभित्र रहेर नागरिकको हितलाई केन्द्रमा राखी काम गर्न निर्देशन दिए।
दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधानमा विशेष ध्यान दिन आग्रह गर्दै उनले नागरिकको हित, सेवाको गुणस्तर र सुशासनलाई प्राथमिकतामा राखी अधिकारको दुरुपयोग नगरी निष्पक्ष रूपमा काम गर्नुपर्ने बताए। साथै, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी अघि बढ्न सुझाव दिँदै मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न सदैव तयार रहेको स्पष्ट पारे।
नवनियुक्त प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन समयअनुकूल हुन नसकेको उल्लेख गर्दै त्यसको परिमार्जन आवश्यक रहेको बताए। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताए। सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।
त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमजोरी सुधार गर्दै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए। कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार सेवाको विस्तार, क्षेत्रको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने उनले बताए।
नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने घिमिरेले बताए।