कर्णाली । कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव फेला परेको छ। असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा खसेर दुर्घटनामा परेको थियो।
दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडास्थित कर्णाली नदी किनारमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी तुलाराम सुवेदीको शव फेला परेको हो।
यसअघि पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवा तथा रास्कोट नगरपालिका–२, खड्कागाउँ निवासी १८ वर्षीया सिर्जना खड्काको शव पनि फेला परिसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बेपत्ता भएका तुलाराम सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र दुर्घटनाग्रस्त फोर्स गाडी अझै फेला परेका छैनन्। उनीहरू तथा गाडीको खोजीका लागि गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरिएको छ।