काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् ।
शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा संसद्मा समेत आवाज उठाएको बताए । मुलुकमा रोजगारीको अभाव र अवसरको कमीका कारण युवामा निराशा बढ्दै गएको उल्लेख गर्दै उनले गणेश नेपालीले संघर्षरत युवाको अवस्थाको प्रतिनिधित्व गरेको धारणा राखे ।
खरेलले घटनाबारे गहिरो अनुसन्धान आवश्यक रहेको र मृतकका परिवारले सत्यतथ्यका आधारमा न्याय पाउनुपर्ने बताए । उनले सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
“दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका एउटा सामान्य युवाको अवस्थालाई उनले प्रतिनिधित्व गर्छन् । यस सन्दर्भमा गहिरो छानबिन हुनुपर्छ। उनको जीवनको मूल्य कसैसँग पनि दाँजिन सकिँदैन र गुमेको जीवन कुनै पनि बहानामा फिर्ता हुन सक्दैन । गणेश नेपाली अब हामीमाझ छैनन्, तर कम्तीमा सत्यतथ्य बाहिर ल्याएर उनको परिवारले न्याय पाउनुपर्छ । आगामी दिनमा यस्ता हृदयविदारक घटनाहरू नदोहोरिउन् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ,” खरेलले भने ।
उनले सरकारमाथि आफूलाई भरोसा रहेको उल्लेख गर्दै घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी निष्कर्षमा पुर्याउन आग्रह गरे ।