काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाको अनुसन्धान तीव्र बनाइएको छ। अनुसन्धानको सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमा दुई जना महिला र एक जना पुरुष नगर प्रहरी रहेका छन्। उनीहरूसँग घटनाको पृष्ठभूमि, घटनाक्रम तथा सम्भावित कारणबारे जानकारी संकलन गर्न अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार हाल तीनै जनालाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
मुगुका गणेश नेपालीले बिहीबार दिउँसो करिब १:३० बजे काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।