काठमाडौं ।इजरायलले हाल छनोट प्रक्रियामा रहेका नेपाली श्रमिकहरूको सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै नयाँ श्रमिक भर्ना प्रक्रिया अघि बढाउने भएको छ।
बुधबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत एरी बासबीच मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको थियो। भेटका क्रममा इजरायल जान छनोट भएका नेपाली श्रमिकले भोगिरहेका समस्या, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षा तथा प्रस्थान प्रक्रियाबारे विस्तृत छलफल भएको थियो।
श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हाल २,३०० जनाको प्रारम्भिक सूचीमध्ये करिब १,२०० जनाको स्क्रिनिङ प्रक्रिया अघि बढिरहेको छ। यो चरण पूरा भएपछि मात्रै बाँकी उम्मेदवार तथा नयाँ आवेदनका लागि अर्को सूचना जारी गरिनेछ।
‘अहिले प्राथमिकता छनोटमा परेका श्रमिकको प्रक्रिया सम्पन्न गराउनेमा छ। केयरगिभरका रूपमा जान चाहने र अघिल्लो लटरीमा समावेश हुन नसकेकाहरूका लागि अर्को परीक्षा कहिले गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ,’ ती अधिकारीले भने।
राजदूत एरी बासले पनि अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरी छनोटमा परेका नेपाली श्रमिकलाई छिटो इजरायल पठाउने कार्यलाई प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार हालको समूहको प्रस्थान प्रक्रिया सकिएपछि मात्रै नयाँ आवेदन र छनोट प्रक्रिया सुरु हुनेछ।
यसैबीच, श्रम मन्त्रालयले होम बेस केयर र कृषि (एग्रीकल्चर) क्षेत्रका श्रमिक पठाउन आवश्यक नयाँ प्रोटोकललाई अन्तिम रूप दिने तयारी गरेको जनाएको छ। मन्त्रालयका अधिकारीका अनुसार प्राप्त सुझाव र टिप्पणी समेटेर दुवै प्रोटोकल चाँडै स्वीकृत गरिनेछ।
‘होम बेस केयर र कृषि क्षेत्रका लागि आवश्यक प्रोटोकल अन्तिम चरणमा पुगेको छ। यसलाई सकेसम्म छिट्टै टुङ्ग्याउने तयारीमा छौँ,’ ती अधिकारीले बताए।
भेटवार्ताका क्रममा मन्त्री यादव र राजदूत बासले नेपाली श्रमिकका समस्या समाधानका लागि निरन्तर संवाद र सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नेपाल–इजरायल श्रम सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली श्रमिकको हकहित संरक्षणका लागि दुवै पक्षबीच समन्वय अझ प्रभावकारी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।