काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आउने दाबी गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उद्योगको मर्मत कार्य अघि बढिसकेको र सरकारले यसको पुनः सञ्चालनलाई प्राथमिकतामा राखेको बताइन्।
उनका अनुसार उद्योगको मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ। मर्मत कार्य अघि बढिसकेको उल्लेख गर्दै उनले केही महिनाभित्र उद्योग सञ्चालनमा आउनेमा आफू विश्वस्त रहेको बताइन्।
मन्त्री कुमारीले व्यापार घाटा न्यूनीकरणलाई सरकारले प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको पनि बताइन्। साथै, नेपाल–अमेरिका व्यापार तथा लगानी सहकार्यअन्तर्गत समाप्त भएको ड्युटी–फ्री तथा कोटा–फ्री सुविधाको अवधि थप गर्न नेपाल सरकारले अमेरिकी सरकारसँग अनुरोध गरिसकेको जानकारी दिइन्।