काठमाडौँ – नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न निर्देशन दिएको छ । संस्थाको छविमा आँच आउने गरी विभिन्न तहमा सवारी साधनको दुरुपयोग भइरहेको गुनासो बढेपछि रेडक्रसले निर्देशन दिएको हो ।
रेडक्रस केन्द्रीय कार्यालयले जारी गरेको पत्र अनुसार संस्थाका सम्पत्तिहरू विशुद्ध मानवीय सेवा, राहत, उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र रक्तसञ्चार जस्ता स्वीकृत संस्थागत कार्यमा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
उक्त अपिलमा भनिएको छ, ‘नेपाल रेडक्रस सोसाइटीका नाममा रहेका कतिपय सवारी साधन र एम्बुलेन्सहरू व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा राजनीतिक प्रयोजनमा प्रयोग भएको भन्ने सरोकारवालाहरूको टिप्पणी र सञ्चारमाध्यममा आएका समाचारप्रति संस्थाको ध्यानाकर्षण भएको छ । यस्ता गैर-संस्थागत कार्यहरू पूर्ण रूपमा निषेध गरिएको छ ।’
संस्थाको नियम र आचारसंहिता विपरीत सवारी साधन वा एम्बुलेन्स प्रयोग गरेको पाइए कारबाहीको भागीदार बन्नुपर्ने सूचनामा उल्लेख छ ।
