ललितपुर। ललितपुर महानगरपालिकाले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले ६२ लाख ६५ हजार रुपैयाँको लागतमा खरिद गरिएको उक्त क्रेनले महानगरको अग्नि नियन्त्रण क्षमतामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका क्षेत्रमा अग्रणी रहेको दाबी गरे। नगर प्रमुख महर्जनकाअनुसार हालै एक साततले भवनमा लागेको आगो नियन्त्रणका क्रममा सिँढीबाट पाइप लैजानुपर्दा समय धेरै लागेको र नियन्त्रणमा कठिनाइ भएको थियो । यस्ता अग्ला भवनहरूमा हुने आगलागीलाई द्रुत गतिमा नियन्त्रण गर्न यो अत्याधुनिक क्रेन प्रभावकारी हुने उनले बताए । महानगरले आफ्नो सेवा ललितपुर क्षेत्रमा मात्र सिमित नराखी छिमेकी जिल्ला र नगरहरूमा पनि विस्तार गर्दै आएको छ । पछिल्लो समय काठमाडौंका विभिन्न स्थानमा भएका आगलागीका घटनाहरूमा ललितपुरका दमकलले ७९ पटकभन्दा बढी सेवा प्रवाह गरिसकेको मेयर महर्जनले बताए।
नगर प्रमुख महर्जनले भने, ‘हामीसँग यसअघि नै अत्याधुनिक दमकल, एम्बुलेन्स र दक्ष नगर प्रहरीको टोली तयारी अवस्थामा थियो, तर एउटा उच्च क्षमताको क्रेनको अभाव खड्किरहेको थियो । आजबाट त्यो अभाव पनि पूरा भएको छ । हामी सेवामा सीमा तोक्दैनौँ । काठमाडौँका सिंहदरबार, हिल्टन होटल, सडक विभाग लगायतका क्षेत्रमा भएका आगलागी नियन्त्रणमा हाम्रा दमकल र फोम प्रविधिले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।’
जेन–जी आन्दोलनका क्रममा एउटा पुरानो दमकलमा क्षति पुगेपछि महानगरले थप दुईवटा अत्याधुनिक दमकल खरिद गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । ती दमकल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भई प्राविधिक मूल्याङ्कन भइरहेको र निकट भविष्यमै ती उपकरण पनि आइपुग्ने जानकारी दिइएको छ । नयाँ खरिद गरिएको क्रेन सञ्चालनका लागि महानगरका तीनजना दक्ष ‘हेभी’ सवारी चालकहरूलाई निर्माण कम्पनीमार्फत विशेष तालिम दिने व्यवस्था मिलाइएको छ । ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै पछिल्लो समय स्रोत र साधनको समुचित व्यवस्थापनमा जोड दिँदै आएको छ ।