काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाइएको छ । यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको बैठकले प्रा. डा. जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा प्रा. डा. लोचना श्रेष्ठ र प्रा. डा. दिनेश लम्साल सदस्य रहेका छन् ।
विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ अनुसार गठन गरिएको हो ।
यसैबीच, बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी विश्वविद्यालय सभाका लागि ६ जना सदस्य पनि मनोनयन गरेको छ । विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाइएको छ ।
बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान दिएका सदस्यहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेको छ ।