काठमाडौँ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रमसम्बन्धी छलफल अघि बढाउने विषयमा सत्तापक्ष र विपक्षबीच मतभेद देखिएको छ।
नेपाली काँग्रेसले प्रधानमन्त्रीको उपस्थिति नभएसम्म छलफल अघि बढाउन नसकिने अडान दोहोर्याएको छ। बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति आवश्यक रहने धारणा राखे।
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धी विषयसमेत उठाउँदै बैठक सञ्चालनको उपयुक्ततामाथि प्रश्न गरेका थिए।
यसबीच सभामुख डिपी अर्यालले भने आजकै कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। साथै, उनले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र आगामी दिनको कार्यतालिका तय गर्ने जानकारी दिएका छन्।
विवादबीच पनि संसद्मा नीति तथा कार्यक्रममाथिको छलफललाई क्रमशः अगाडि बढाउने प्रयास भइरहेको छ।