काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विषयलाई कूटनीतिक संवादकै माध्यमबाट समाधान गर्ने स्पष्ट नीति दोहोर्याएको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त सीमा विवादमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट र अडिग रहेको जानकारी दिएका हुन् ।
उनका अनुसार नेपालले आफ्नो दाबी र आधारलाई निरन्तर कूटनीतिक माध्यमबाट सम्बन्धित पक्षहरूसमक्ष प्रस्तुत गर्दै आएको छ ।
प्रवक्ता क्षेत्रीले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा नेपालले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै हालैका घटनाक्रमसँग सम्बन्धित विषयमा समेत नेपालले स्पष्ट रूपमा आफ्नो स्थिति राखेको बताए । महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको तथ्य ऐतिहासिक सन्धि-सम्झौता र प्रमाणका आधारमा स्थापित रहेको नेपाल सरकारको धारणा रहेको उनले दोहोर्याए ।
उनका अनुसार नेपालले भारत र चीन दुवै देशलाई आफ्नो कूटनीतिक अडानबारे पुनः जानकारी गराइसकेको छ । नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्दै समस्याको समाधान संवादकै माध्यमबाट खोज्नुपर्नेमा सरकारको जोड रहेको पनि उनले बताए ।