काठमाडौं- निजी क्षेत्रको प्रभावशाली प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् अञ्जन श्रेष्ठ। साढे दुई दशकको सांगठानिक सक्रियतापछि श्रेष्ठ महासंघको अध्यक्ष बनेका हुन्।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ आजदेखि औपचारिकरूपमै अध्यक्ष बनेका हुन्। यद्यपि उनले कार्यभार भने बिहीबार सम्हाल्ने भएका छन्।
महासंघको बाँकी कार्यसमितिको निर्वाचनको मतपरिणाम पनि आइसकेको छ। कार्यसमितिमा सुविधाजनक आफ्नो पकडसहित अध्यक्षको कुर्सीमा श्रेष्ठ पुगेका छन्।
पोखरामा सानो व्यवसायबाट सुरु भएर काठमाडौं आउँदा दर्जनौँ क्षेत्रमा साम्राज्य बनाइसकेको लक्ष्मी समूहका लागि महासंघ नेतृत्व ताक्नु ठूलै चुनौती थियो। बुवा गणेशबहादुर श्रेष्ठको नेतृत्वमा रहेको लक्ष्मी ग्रुपमा प्रबन्ध निर्देशकका रूपमा छोराहरू सुनिल, अञ्जन, निराजन र निराकार खटिएका छन्। अहिले महासंघको राजनीतिमा अञ्जनमात्रै छन्।
तत्कालीन समयमा श्रेष्ठ पराजित भए पनि लक्ष्मी समूह महासंघ राजनीतिबाट टाढा भएन। मामा अध्यक्ष बनाउन नसके पनि अञ्जन श्रेष्ठ भने महासंघको सक्रिय राजनीतिमा सोही समयदेखि देखिन थालेका थिए।
विगतमा खासै बाहिर नआउने गरेका अञ्जनले नाडा अटो मोबाइल एसोसिएसनको राजनीतिमा चासो दिए। नाडामा अध्यक्षसमेत भए। महासंघ वस्तुगततर्फको शक्तिशाली संस्था नाडामा नेतृत्व गरेपछि उनको महासंघको राजनीति तय भयो। महासंघको वस्तुगत उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै श्रेष्ठ अध्यक्ष बनेका हुन्। उनको कार्यकाल तीन वर्षको हुनेछ।
लक्ष्मी ग्रुप पोखराबाट फैलिएको व्यापारिक घराना हो। अञ्जनको परिवार ठूलो र घर एकदमै सानो थियो। बुबा पाल्पामा सरकारी जागिरे थिए। पोखराको घर बेचेर नेपालगञ्जमा बस्ने सोच बनाएका थिए बुबाले। मामाले धेरै उब्जाउयोग्य जमिन नेपालगञ्जमा रहेको बताएपछि बुबाले त्यता जाने इच्छा देखाए।
त्यो समय अञ्जनको ठूलो बुबा बुटवलमा थिए। त्यो समयमा अञ्जन र भाइहरू पुष्टकारी बनाएर बेच्ने गर्दथे। ठूलो बुबाको साथीहरूमध्ये एकजना भारतीय साथी थिए। उक्त भारतीयले बनारसबाट मीठाइ बनाउन मिल्ने मेसिन ल्याएका थिए। त्यसपछि अञ्जनको परिवार व्यापारमा आएको थियो।
४ सय रूपैयाँ र २ हजार ऋण लिएर २४ सयबाट व्यापार सुरु गरेको हो। पोखरामा ३ कक्षा पास गरेर काठमाडौंमा १ कक्षामा पढ्नका लागि आएका थिए अञ्जन। बालुवाटारको स्कूलमा भर्ना भएका अञ्जन पूर्वयुवराज पारस शाह पनि क्लासमेट थिए।
सन् १९७३ मा लक्ष्मी मीठाइ भण्डारबाट सुरू भएको यात्रा सन् २०२३ सम्म आइपुग्दा दुग्धजन्य उत्पादनका साथै प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।
विदेशी मीठाइ, चकलेट, चुइङगमलगायत परिकार विश्व बजारमा पनि पुगेका छन् उनी। लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरीले उत्पादन गर्ने कन्फेक्सनरी, चकलेट लगायत उत्पादन विश्व बजारमा समेत परिचित छन्। सुजलका ४० भन्दा बढी कन्फेक्सनरी ब्रान्ड बजारमा छन्।
लक्ष्मी ग्रुपले हाल तीन हजार दुई सय रोजगारी सिर्जना गरेको छ। आगामी पाँच वर्षमा यो संख्या पाँच हजार पुर्याउने लक्ष्य छ।