काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी) मा अनधिकृत पहुँच पुर्याएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीसहित ९ जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ तथा चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा रहेका छन्।
यसअघि यही प्रकरणमा ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा थप ६ जना पक्राउ परिसकेका छन्। उनीहरूलाई काठमाडौंसहित विभिन्न जिल्लाबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा ह्याकरहरूले बोलपत्रको आर्थिक प्रस्ताव खोलिनुअघि नै कागजातमा परिवर्तन गरी ठेक्का प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरेको खुलेको छ। उक्त घटनामा विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।
सरकारले सार्वजनिक खरीद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाउन ईजीपी प्रणाली लागू गरेको भए पनि पछिल्लो घटनाले सरकारी डिजिटल प्रणालीको साइबर सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।