बागमती । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदी बन्दी अझै कारागार फर्किएका छैनन् । जेन जेड आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिवारसम्म २९४ कैदी बन्दी मात्र कारागार फर्किएका छन् ।
कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २९४ जना र अन्य कारागारबाट फरार ७६ कैदी बन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भिमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भिमफेदी कारागारमा रहेका प्रमुख पौडेलले बताए ।
गत भदौ २४ गते राति १:०० बजेतिर भिमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० कैदी बन्दी फरार भएका थिए । फरार कैदी बन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए ।
कारागारबाट भागेका फरार कैदी बन्दीको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।