काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेश मन्त्री एस पल कपुर बीच मंगलबार भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा सम्पन्न उक्त भेट आर्थिक सहकार्य तथा लगानीका विषयमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ। बैठकमा नेपालस्थित अमेरिकी दूतावास तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
भ्रमणका क्रममा कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गरेका छन्। सो अवसरमा नेपालमा व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
नयाँ सरकार गठनपछि नेपाल भ्रमणमा आएका कपुरलाई उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ। उनको भ्रमणलाई नेपाल र अमेरिकाबीच सहकार्यका क्षेत्र विस्तार गर्ने प्रयाससँग पनि जोडेर विश्लेषण गरिएको छ।
यसै क्रममा उनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग समेत भेट गरेका थिए। सो भेटमा नयाँ सरकारका प्राथमिकता र दुई देशबीच सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ।
कपुरले अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरूसँग नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानीका अवसरबारे पनि संवाद गरेका छन्। उक्त छलफलमा डिजिटल पूर्वाधार सुदृढीकरण, कृत्रिम बौद्धिकता (एआई) को विस्तार, साइबर सुरक्षाको सुदृढीकरण तथा प्रविधिगत सीप आदानप्रदानका विषयमा कुराकानी भएको बताइएको छ।
उनी गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उक्त पदमा नियुक्त भएका हुन्। यसअघि सो जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए।