
स्याङ्जा । वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी संख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ-२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ-६ को वनपाला आधारभूत विद्यालय, वालिङ-७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ-१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिक सत्रको सुरुआतदेखि नै समायोजन गरिएको छ । समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए ।
विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ । पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँ गाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेष गरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून हुँदै गएको हो ।
विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी संख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको संख्या कम हुने गरेको जनाइएको छ ।