
काठमाडौँ । आर्थिक विषयमा कलम चलाउने सञ्चारकर्मी ममता थापा सम्मानित भएकी छन् । अन्नपूर्ण पोष्टमा कार्यरत थापालाई नेपाल सुनचाँदी व्यवसायी महासङ्घले १२ औँ वार्षिक साधारण सभा २०८१ मा सम्मान गरेको हो ।
पोखरामा आयोजित वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शनिवार (हिजो) थापालाई नगदसहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् । यससँगै, महासङ्घका अध्यक्ष अर्जुन रसाइली र वरिष्ठ उपाध्यक्ष एवं मूल समारोह समिति संयोजक दिवेश रत्न शाक्यले क्रमशः दोसल्ला ओढाइ नगद १५ हजार रुपैयाँसहित सम्मान गरेका छन् ।
एक हप्तामा दोस्रो पटक सम्मानित
सञ्चारकर्मी थापा एक हप्ताको अवधिमा दोस्रो पटक सम्मानित भएकी छन् । चैत १३ गते बुधवार थापा दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ मा खोज पत्रकारिता अवार्डबाट सम्मानित भएकी थिइन् ।
पत्रकारितामार्फत जनतालाई सूचित गर्न विकृति विसङ्गति विरुद्ध खबरदारी गर्ने र निरन्तर पत्रकारितामा खटेको भन्दै उत्प्रेरणा स्वरूप पत्रकार थापालाई सम्मान प्रदान गरिएको कार्यक्रममा बताइएको थियो ।