काठमाडौँ, १५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गरे पनि वास्तविकतामा हवाई भाडा कम नभएको पाइएको छ ।
मन्त्री पाण्डेको सचिवालयले मन्त्री पाण्डेको विशेष पहलमा हवाई कम गरेको दाबी गरेको छ । पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका दाबी गरिएको छ ।
तर वास्तवमा भने हवाई भाडामा कुनै कमी आएको देखिएको छैन । कुनै पनि हवाई कम्पनीको आगामी शुक्रवारसम्मका लागि कुनै टिकट नै उपलब्ध रहेको छैन । शनिवारका लागि बुद्ध एयरले काठमाडौँदेखि भैरहवाको भाडा रु. ७,२१६.१८ देखि ८,१८४.५९ सम्म देखाएको छ । त्यस्तै इसेवामा बुद्ध एयरको ८,५६४ रहेको छ भने श्री एयरको ८५ सय भाडा रहेको छ ।
यस अघि सामान्य अवस्थामा यो रुटमा सबै एयरलाइन्सले ५२ सयमा टिकट बेचिरहेका थिए ।
हवाई कम्पनीले अहिले सरकारले तोकेको अधिकतम मूल्यमा टिकट नबेच्ने घोषणा गरे पनि, मन्त्रीले भाडा घटाएको दाबी गरे पनि यात्रुले सामान्य अवस्था भैरहवाको रुटमा भन्दा २ देखि ४ हजार बढी भाडा तिरिरहेको पाइएको छ ।
अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएको तथा दसैँको मौका छोपेर हवाई कम्पनीहरूले यात्रुलाई झन् मार पारिरहेको स्पष्ट हुँदा पनि मन्त्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गर्न छोडेका छैनन् ।
अहिले यात्रुले टिकट पाइरहेका छैनन् र पाएको टिकट पनि अन्य समयमा भन्दा ४ हजारसम्म बढी तिरेको स्पष्ट देखिएको छ ।