पाँचथर, १२ असोज । पाँचथरको दुई स्थानमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
अविरल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोटमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाएको थियो ।
पहिरोमा परेर सोही घरमा डेरा लिई बस्दै आएका फिदिम नगरपालिका-१ का ५० वर्षीय गोपी विश्वकर्माको घटनास्थलमै निधन भएको हो ।
मृतक विश्वकर्मा फुरुङ्गा हाइड्रो पावरका कर्मचारी रहेको बुझिएको छ ।
उक्त पहिरोमा परेर फिदिम-१ का ५१ वर्षीय कृष्ण दास र उनको श्रीमती ४२ वर्षीय कमला दाश, फिदिम-१ का ५५ वर्षीय धन कुमार तुम्वापो र फिदिम-१ की २१ वर्षीय सरस्वती तुम्वापो बेपत्ता छन् ।
त्यस्तै फिदिम नगरपालिका-४ चिसापानीमा फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम-१२ की २४ वर्षीया सपना शेर्पा र उनको ६ वर्षको छोरी डोल्मा शेर्पाको निधन भएको छ ।
आदिवासी जनजाति महासंघको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले किचेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।