झापा, १२ असोज । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण झापा जिल्लामा कम्तीमा २३८ घरमा क्षति पुगेको छ ।
डुबान र बाढीका कारण एक हजार ११७ घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीका अनुसार हिजो दिउँसो ३:३० बजे कचनकवल गाउँपालिका-१ चमर भित्ता बस्ने १४ वर्षकी बालिकालाई खोलाले बगाएको छ ।
साइकलमा खोला तर्ने क्रममा ती बालिकालाई खोलाले बगाएको हो । यो समाचार तयार पार्दासम्म उनको अवस्था अज्ञात नै छ ।
त्यस्तै एक मोटरसाइकल समेत खोलामा बगेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, भद्रपुर, कचनकवल, मेचीनगर, लगायत विभिन्न स्थानहरूमा घर डुबान परेका छन् ।
अहिलेसम्मको विवरणअनुसार तीन वटा पुलमा क्षति पुगेको छ । अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ खोलामा रहेको खुदुनाबारी-शनिश्वरे जोड्ने मोटरेवल पुल अविरल वर्षा सँगै आएको बाढीले क्षति पुर्याएको छ । रातीदेखि उक्त पुलको दक्षिण साइडमा १० मिटर पक्की पुल भत्किएको छ ।
त्यस्तै झापा गाउँपालिका-५ मा रहेको बिरिङ खोलामा बाढी आइ पक्की पुलमा क्षति पुर्याउँदा हुलाकी राजमार्ग अवरुद्ध हुन पुगेको छ । बाह्रदशी गाउँपालिका-३ कोनाबारीमा रहेको अदुवा खोलामा रहेको काठको पुल भाँचिएको हुनाले मानिसहरूको आवतजावत बन्द रहेको छ ।
डुबानमा परेर एक व्यक्ति बेपत्ता भएका छन् । कमल गाउँपालिका-१ बस्ने ३५ वर्षको टिकाराम चौधरी कृष्णे खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता चौधरीको खोजतलास जारी छ । यो समाचार तयार पार्दासम्म उनको अवस्था अज्ञात छ ।
क्षतिको विवरण