बिर्तामोड (झापा) ८, असोज । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको चारआलीमा हिजो साँझ भएको दुर्घटनामा एक जनाको निधन भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले सोमबार राती ८:०० बजे पैदल यात्री बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने अन्दाजी ६२ वर्षको याम बहादुर लिम्बुलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते लिम्बुको उपचारको लागि बिएण्डसी अस्पतालमा ल्याइएकोमा उपचारकै क्रममा आज बिहान २:४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका-४ घर भएका अन्दाजी ३२ वर्षका विकास लिम्बुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।