विराटनगर , ३१ भाद्र । मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
ग्रामथान-४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पूर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ४७२० मतसहित ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राती गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए ।
पक्राउ पर्नेहरुमामा सुनसरीको दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार मास्के, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का अहिलाल माझी, धरान १५ का युवक राई, दमक १० का ऋतुबर्ण नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रहेका छन् ।
सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरु जुवा खेल्ने गरेका थिए । कोशी प्रदेशको विभिन्न जिल्ला र मधेश प्रदेशबाट पनि जुवाडेहरु ग्रामथानमा जुवा खेल्न आउने गरेका थिए । खोला छेउ छाउको घरहरुमा व्यवस्थित रुपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाको साथबाट र जुवा खालबाट १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई छलेर ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र केही वर्षयता नियमित जुवा खाल संचालन गरिँदै आएको थियो ।
जुवा खेल्दा के हुन्छ कारबाही ?
नेपालको कानुनले कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिवाल पाउने वा गुमाउने गरी खेलिने जुवालाई कसुर ठहर गरेको छ । यसलाई अपराध मान्दै सजाय समेत तोकेको छ ।
कानुनले जुवाको परिभाषा गर्दै भनेको छ कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने खेल वा प्रक्रिया सम्झनु पर्छ। साथै, आफूले जुवा नखेली अरूको हारजितमा आफूले बाजी थाप्ने काम समेत जुवा हो। खेलमा आफू सिधै सहभागी नभई अरूको हारजितमा चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जुवा नै जनाउने कुरा उल्लेख छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ का अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ भने दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुर मा पटकै पिच्छै थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था गरेको छ ।
तर, कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि थोरै रकम राखी स्वीकृति लिई सञ्चालन हुने खेल वा चिट्ठा भने जुवा भित्र पर्दैनन्। अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिट्ठा खेल वा कार्यक्रमलाई जुवा मानिने छैन भनी अपराध संहितामा भनिएको छ।
यसका अतिरिक्त, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले जुवा खेल्न खेलाउन प्रोत्साहन गर्ने गरी विज्ञापन गर्न प्रतिबन्ध गरेको छ। कसैले त्यस्तो कार्य गरेमा निजलाई १ वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।