भक्तपुर, २९ भाद्र । कम तौलका गहनाहरूलाई बढी तौलका बिल बनाएर ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले तीन जना महिलालाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-२ व्यासीमा कम तौलको सुनका गहना बनाउने र नक्कली बिल सहित बढी मूल्यमा बन्धकी राखेर रकम ठगी गरेको अभियोगमा उनीहरूलाई हिजो पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ अल्पाईन टोल बस्ने वर्ष ५५ की मनमाया थापा मगर, उदयपुर आमबासी घर भई ललितपुर इमाडोल बस्ने वर्ष ५४ की चन्द्रकला विश्वकर्मा र सप्तरी सप्तकोशी नगरपालिका-२ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-४ अल्पाईन टोल बस्ने वर्ष ४० की राधा विश्वकर्मा रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले तिलहरी चार थान, चुरा दुई थान, बाला एक थान, नाकको फुली र पेज १५ दशमलव ८० ग्राम, हरियो र पहेँलो रंगका पोते ३०/३० थान, विभिन्न ज्वेलर्सको बिल १५ थान, बन्दकी राख्दा लिने दिने कागजको चित ३० थान, विभिन्न भिजिटिङ कार्ड ३० थान र नगद रु तीन लाख बयालिस हजार पाँच सय बरामद गरेको हो ।
पक्राउ परेका महिलाहरूउपर प्रहरी वृत्त सातदोबाटोमा ठगी सम्बन्धी उजुरी परेका बरामद सामानसहित उनीहरूलाई थप अनुसन्धानको लागि सातदोबाटो पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताए ।