बिर्तामोड (झापा), २८ भाद्र । आफ्नो भाईको हत्या गरेको अभियोगमा झापा प्रहरीले मृतकका दाजुलाई पक्राउ गरेको छ ।
हिजो (बिहीबार) जिल्लाको शिवसताक्षी-८ शितल चोक बस्ने वर्ष ४१ को रामप्रसाद सिटौला आफ्नै घरको बसेली भुईँमा राती ९:१० बजे मृत अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुशिल थापा मगरको कमाण्डमा पुगेको टोलीले अनुसन्धान गर्दा मृतकको टाउको र अनुहारमा चोट देखिएपछि हत्या भएको आशङ्का गरेको थियो ।
घटना शङ्कास्पद भएपछि प्रहरीले मृतकका दाजु ४५ वर्षीय नारायण सिटौलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले केटिएम दैनिकलाई बताए ।
दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशङ्कामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिटौलालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले बताए ।