माइधार (झापा), २५ भाद्र । झापाको दोमुखामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ ।
हिजो दिउँसो ३:०० बजे शिवसताक्षी-१० दोमुखा स्थितमा रहेको कनकाई माईखोलामा पौडी खेल्न गएका चार युवामध्ये दुई जना बेपत्ता भएका थिए ।
भद्रपुर-५ बस्ने अन्दाजी वर्ष-१७ को फिरोज खान, बिर्तामोड-२ बस्ने अन्दाजी वर्ष-१८ को उज्ज्वल राई समेत ४ जना किशोरहरू माइखोलामा नुहाउने क्रममा खान र राई बेपत्ता भएका हुन् ।
बेपत्ता दुई जनाको खोजी गर्ने क्रममा बेलुका ५:१५ बजे घटनास्थलभन्दा १०० मिटर दक्षिणमा फिरोज खानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले केटिएम दैनिकलाई बताए ।
डिएसपी चन्दले भने ‘ढुङ्गामा अड्किएको अवस्थामा एक युवकको शव भेटिएको हो ।’
बेपत्ताको खोजतलासका लागि अस्थायी प्रहरी चौकी माइधार, इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय शिवगञ्ज, प्रहरी चौकी कुञ्जिवारीबाट प्रहरी टोली खटिएको थियो ।
उक्त टोलीले खानको शव फेला पारेको हो ।
बेपत्ता भएका उज्ज्वल राईको अवस्था अहिलेसम्म अज्ञात नै छ । खोजतलासको लागि कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढी,सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरबाट टोली खटिएर खोजतलास भइरहेको बताइएको छ ।