काठमाडौँ, २४ भाद्र । वैदेशिक रोजगारीको लागि युरोपियन मुलुक पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पोल्याण्ड लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात् विदेश नपठाई तीन लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले टोखा-३ मनकामना टोलबाट ४४ वर्षीया कमला चुँडाललाई पक्राउ गरेको हो ।
पीडितले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले अपराध अनुसन्धान कार्यालयलाई पत्र लेख्दै चुँडाललाई विभागमा उपस्थित गराइदिन अनुरोध गरेको थियो ।
विभागको पत्र पाएसँगै टेकुबाट खटिएको प्रहरी टोलीले चुँडाललाई आज पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताए ।
एसपी आचार्यका अनुसार पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।