विराटनगर, २४ भाद्र । मोरङ जिल्लाका दुई स्थानबाट प्रहरी लागुऔषध ब्राउन सुगर र विभिन्न ट्यावलेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भाद्र २१ गते (शुक्रवार) मोरङ कानेपोखरी बजारबाट १०० ग्राम ब्राउन सुगरसहित एक महिलालाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा विराटनगर-११ बस्ने वर्ष ३७ की सबिता तामाङको साथबाट १०० ग्राम ब्राउन सुगर फेला परेको हो ।
त्यस्तै शनिवार पथरीशनिश्चरे नगरपालिका-४ कुशल चौक बस्ने वर्ष २५ को सरोज श्रेष्ठले आफ्नै घरमा लागूऔषध बेचिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा ठुलो परिणाममा विभिन्न लागुऔषध ट्याब्लेट बरामद भएको हो ।
अस्थायी प्रहरी पोस्ट कुशलबजारबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा श्रेष्ठको घरबाट ट्रामाडोल ७२४ चक्की, डिकोलिक ४८० चक्की फेला परेको हो ।
लागुऔषध सहित पक्राउ परेका दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।