काठमाडौं, २३ भाद्र । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर घर भएकी ३२ वर्षीय गोमा पाण्डे, सर्लाही घर भई हाल ललितपुरको टीकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा घर भई हाल ललितपुरको इमाडोल ५० वर्षीय गोपाल प्रसाद घिमिरे र सङ्खुवासभा घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-५ बस्ने ४३ वर्षीय सुवास ढकाल छन् ।
नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि एसइई र प्लस टूको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले शुक्रबार उनीहरूलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार अमेरिकी दुतावाससँगको समन्वयमा उनीहरूलाई दूतावास नजिकैबाट पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट नक्कली शैक्षिक प्रमाणपत्रहरू प्रहरीले बरामद गरेको छ ।
चारै जनालाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी आचार्यले बताए ।