काठमाडौँ, ३२ श्रावण । अनलाइनमा बिक्रीका लागि राखिएको मोटरसाइकल टेस्ट ड्राइभ गर्ने भन्दै लिएर भाग्ने तीन युवक चोरी आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ हाँडीगाउँ बस्ने २० वर्षीय राकेश थापा, भक्तपुरका १९ वर्षीय सुरोजन शाही र २९ वर्षीय विकास थामी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बाइक चोरेको आरोपमा उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार थापाले हाम्रो बजार नाम गरेको फेसबुक पेजमा राखिएको मोटरसाइकल विक्री सूचनामा उल्लेख गरिएका व्यक्तिसँग सम्पर्क राखेर उनको केटीएम डुक मोटरसाइकल टेस्ट ड्राइभ गर्छु भन्दै लिएर फरार भएका थिए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये थामी चोरीको मुख्य योजनाकार हुन् । उनले फेसबुक मार्केटप्लेस लगायत विभिन्न अनलाइनमा विक्रीका लागि राखिएका मोटरसाइकलबारे खोजतलास गर्ने कार्यमा संलग्न थिए ।
त्यस्तै शाही र थापाले मोटरसाइकल धनीलाई आफू अनुकूल स्थानमा बोलाउने र टेष्ट ड्राइभ गर्ने भन्दै मोटरसाइकल लिएर फरार हुने गरेका थिए ।
थापाले श्रावण ६ गते पनि यसरी मोटरसाइकल टेस्ट ड्राइभ गर्ने भन्दै एक मोटरसाइकल लिएर फरार भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।
चोरीका दुई वटा मोटरसाइकल सहित तीन जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको आचार्यले जानकारी दिए । यी दुई वटा बाहेक यो समूहले अन्य मोटरसाइकलहरू पनि यसरी नै चोरेको हुनसक्ने भन्दै अनुसन्धान जारी राखिएको बताइएको छ ।