पोखरा, ३१ श्रावण । सवारी दूर्घटना न्यूनिकरण गर्ने उद्देश्य कास्की ट्राफिक प्रहरीले पोखरा महानगरभित्र रहेका स्कुलबसहरूको अनुगमन र चेकजाँचमा कडाई गरेको छ ।
बुधबार पोखरा-५ जिरो किमि सडकखण्डमा पोखरा नगर भित्र संचालित स्कुलबसहरुको गति लिमिट एवं सिट क्षमता सम्बन्धमा सवारी साधनहरुको चेकजाँच गरिएको थियो ।
५५ वटा स्कुलका सवारी साधनहरुलाई चेकजाँच गर्दा तीन वटा स्कुल बसले सिट क्षमता भन्दा बढी बिद्यार्थीहरु राखी संचालन गरेको पाईएकोले कसूर अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले बताए ।
उनले भने, ‘दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बुधबार स्कुल बसलाई लक्षित गरि चेकजाँच गरिएको हो । आगामी दिनमा पनि चेकजाँच तथा सचेतनामुलक कार्यक्रम गर्ने योजना छ ।’
श्रावण १४ गते एलपी देवकोटा मेमोरियल स्कुलको ग.१.ख ६२१९ नम्बरको बस दुर्घटना हुँदा सोही विद्यालयमा सहयोगीको रुपमा काम गर्ने महिला र उनको छोराको निधन भएको थियो भने चालकसहित २८ जना घाइते भएका थिए ।
स्कुल बसहरूमा स्पिड लिमिट सम्बन्धी ५५ थान स्टिकरहरु टाँस गरी सडक सुरक्षा सम्बन्धमा सम्झाई बुझाईएको गरिएको डिएसपी शर्माले बताए ।