चारआली (झापा), ३० श्रावण । झापाको चारआलीमा मङ्गलवार राती भएको दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको निधन भएको छ ।
मङ्गलवार बेलुका ८:३० बजेको समयमा पूर्व पश्चिम राजमार्गमा बिर्तामोडबाट चारआली तर्फ आउँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएसँगै अनियन्त्रित भएर सडक किनारामा लडेको थियो ।
उक्त दुर्घटनामा घाइते भएका पैदल यात्रीको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मङ्गलवार राती १०:३५ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘अन्दाजी ३५/३६ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको उपचारको क्रममा निधन भएको छ । उनी पैदल यात्री रहेछन्, अहिलेसम्म परिचय खुल्न सकेको छैन ।’
उक्त दुर्घटनामा मोटरसाइकल चालक र त्यसमा सवार व्यक्ति पनि घाइते भएका थिए ।
घाइतेमध्ये मेचीनगर-९ घर भएका अन्दाजी २४ वर्षका सागर मेचेको सोही अस्पतालमा आज दिउँसो निधन भएको छ । डिएसपी चन्दका अनुसार निधन हुने व्यक्ति मोटरसाइकलमा सवार थिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर-९ घर भएका २९ वर्षका मन्दिप मेचेको उपचार जारी छ ।