हल्दिबारी (झापा), ३० श्रावण । माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका एक व्यक्तिको उपचारको क्रममा निधन भएको छ ।
मंगलबार साँझ ५:३० बजे हल्दिबारी-४ चुडाल चौक देखि अन्दाजी २०० मिटर पूर्वमा रहेको पैनीमा करेन्ट लागेर माछा मार्ने क्रममा एक व्यक्ति घाइते भएका थिए ।
अन्दाजी ३३ वर्षका नरेश मोक्तानले बिजुलीको पोलबाट बिजुली तानेर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भई उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा हिजो बेलुका निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण कुमार चन्दले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘माछा मार्ने क्रममा करेन्ट लागेको रहेछ बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराउने क्रममा सोही दिन ६:४० बजे निधन भएको हो ।’