भक्तपुर, २६ श्रावण । भक्तपुरको सूर्यविनायक-५ कटुन्जे तीनधारमा शुक्रबार दिउँसो स्कुलबसले आफ्नै विद्यार्थीलाई ठक्कर दिँदा घाइते भएकी बालिकाको निधन भएको छ ।
अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२ क. ९९११ नम्बरको बसले हिजो दिँउसो २:०५ बजेको समयमा सोही विद्यालयमा अध्ययन गर्ने पाँच वर्षीया बालिकालाई ठक्कर दिएको थियो ।
सल्लाघारीबाट सुवर्णेश्वर तर्फ जाँदै गरेको उक्त बसले त्यही बसबाट ओर्लेर बाटो काट्ने क्रममा रेज कुमार नेपालको छोरी ६ की रियान्सी नेपाललाई ठक्कर दिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए ।
बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारको लागि डा.ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा संलग्न बस र बस चालक भक्तपुर नगरपालिका-२ ख्वामा बस्ने वर्ष ५९ को कान्छा देउपाललाई प्रहरी वृत जगातीको नियन्त्रणमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डिएसपी कार्कीले बताए ।
मृतक बालिकाको शव पोस्टमार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको बताइएको छ ।