काठमाडौँ, २३ श्रावण । निक्षेपकर्ता रकम हिनामिना गरेको आरोपमा प्रहरीले काठमाडौँको सामाखुसीस्थित सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जनालाई पक्राउ गरेको छ ।
बचतकर्ताहरुको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरि सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न मोरङ घर भएका सचिव गोबिन्द पुरी, रामेछाप घर भएका कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक तथा रामेछाप घर भएका ध्रुवराज कार्की लाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
सामाखुसीमा प्रधान कार्यालय रहेको सो सहकारीको न्यूरोड र चावहिलमा पनि शाखा कार्यालय रहेको छ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरिएको हो ।
उक्त सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर रकम जम्मा गर्न लगाएको तर पटक पटक ताकेता गर्दासमेत साँवा र ब्याँज भुक्तानी नगरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीषक होबिन्द्र बोगटीले बताए।
बचतकर्ता रकम जोखिममा पर्ने देखेपछि सहकारी विभागबाट उनीहरूमाथि अनुसन्धान गर्न पत्र पुगेको थियो ।
विभागको पत्रपछि ब्यूरोबाट खटिएको टोली सो संस्थाका सचिवसहित ३ जना व्यक्तिहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेर सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा अनुसन्धान सुरु गरेको एसपी बोगटीले केटिएम दैनिकलाई बताए ।
उनीहरुविरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएको छ । साथै ब्युरोले उक्त सहकारी वा त्यसका शाखाबाट पीडित भएका निक्षेपकर्ताहरूलाई यथाशिघ्र केन्द्रीय अनुसन्धान ब्यूरोको सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।