काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा जाँचका क्रममा लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौँ, रौतहट, सुनसरी, पर्सा, रोल्पा, बाँके, मोरङ, दाङ, डोटी, कञ्चनपुर, रुकुम पश्चिम, सङ्खुवासभा र झापाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूको साथबाट गाँजा १६ किलो २०० ग्राम, चरेसजस्तो देखिने पदार्थ सात किलो ८५ ग्राम, ब्राउनसुगर तथा खैरो हेरोइनजस्तो देखिने पदार्थ, नियन्त्रित लागुऔषधका ट्याब्लेट र नगद बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट नियन्त्रित लागुऔषध ट्रामाडोल एक हजार ४८९ ट्याब्लेट र ६२ हजार रुपैयाँसहित बाराका ३३ वर्षीय प्रेमबहादुर आले पक्राउ परेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारेको हो ।
त्यस्तै, काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १२ ग्राम ११० मिलिग्रामसहित सिन्धुपाल्चोकको बाह्रबिसेका ३२ वर्षीय अजय थापा पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुम्बईका ५३ वर्षीय सइद अहमद सबिर अहमद, २६ वर्षीय मोहम्मद कादिर मोहम्मद हनिफ शेख र ४८ वर्षीय राहत फारुक शेख रहेका छन् ।
प्रहरीका अनुसार पहिलो दुई जना थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका थिए । भारत निकासी गर्ने उद्देश्यले दिल्लीबाट एयर इन्डियामार्फत नेपाल आएका राहतलाई पनि पक्राउ गरिएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ बागमती हाट बजारबाट टापेन्टाडोल ८९ ट्याब्लेटसहित स्थानीय ३० वर्षीय ताराबहादुर चौरेल पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–११ सिमरबना चोकबाट गाँजा करिब २०० ग्राम, ट्रामोल २७८ ट्याब्लेट, स्पास्पेन २५८ ट्याब्लेट र आठ हजार ४०० रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अभिषेक चौधरीसमेत रहेका छन् । उनको घर तलासी गर्दा उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, रामधुनी नगरपालिका–५ शिवचोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७६० मिलिग्रामसहित धरान उपमहानगरपालिका–१५ का २० वर्षीय लाजेदाङ लिम्बुसहित दुई जना पक्राउ परेका छन् । उनीहरू मोटरसाइकलमा सवार थिए ।
इनरुवा नगरपालिका–४ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ दुई ग्राम ३५० मिलिग्रामसहित मोरङको बेलबारी नगरपालिका–२ का ३३ वर्षीय रञ्जित मेहता पक्राउ परेका छन् ।
बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ दुई ग्राम ३७० मिलिग्रामसहित स्थानीय ३० वर्षीय अमर राईसहित चार जना पक्राउ परेका छन् । सोही नगरपालिकाको वडा नम्बर ४ सुनसरीपुलबाट तीन ग्राम ६५० मिलिग्राम उक्त पदार्थ र डिजिटल तराजुसहित स्थानीय ४२ वर्षीय भगत चौधरी पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ राधेमाईबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ चार ग्राम ४८० मिलिग्रामसहित बाराको विश्रामपुर गाउँपालिका–५ का २४ वर्षीय शेख अजाद पक्राउ परेका छन् ।
रोल्पा नगरपालिका–६ रिमसकबाट १८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २३ वर्षीय रिदम घर्तीमगर पक्राउ परेका छन् । उनको घर तलासी गर्दा उक्त पदार्थ फेला परेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–५ शान्तिनगरबाट सात ग्राम ९०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २९ वर्षीय राकेश राई पक्राउ परेका छन् ।
मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित मिलिजुली टोलबाट चार ग्राम ६२ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २९ वर्षीय दिनेश राई पक्राउ परेका छन् । त्यस्तै, विराटनगर महानगरपालिका–१६ बाट ९०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सुनसरीको इटहरी–५ का २१ वर्षीय राज प्रधान पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ मजगाउँबाट २९० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका रविन्द्र कवरसमेत रहेका छन् ।
डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहबाट सात किलो ८५ ग्राम चरेसजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ का २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजङ्गबहादुर कडायत रहेका छन् । उनीहरू मोटरसाइकलमा सवार थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट तीन ग्राम ५६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित शुक्लाफाँटा नगरपालिका–११ का २८ वर्षीय जयराम तिरुवा पक्राउ परेका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ भण्डारीकाँडाबाट ४३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र २५ हजार रुपैयाँसहित २७ वर्षीय वसन्त विक पक्राउ परेका छन् ।
त्यसैगरी, सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ बाट दुई ग्राम ३५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २६ वर्षीय चिरायु पोख्रेल पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका–६ स्थित एचएम होटलबाट तीन ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई तथा दमक नगरपालिका–७ का ३० वर्षीया मिना राई र २६ वर्षीया प्रतिमा राई रहेका छन् । होटल तलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।