ललितपुर, १९ श्रावण । हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।
राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्बसत्ताबादी भएर प्रकट भएको समेत थापाको आरोप छ ।
पार्टीको ललितपुर जिल्ला समितिद्वारा आज कुमारिपाटिमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए ।
विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाई राखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै राष्ट्रियता सङ्कटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामीले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत स्पष्ट पारे ।
राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको परिवर्तन पक्षधर नै भएको तर निरन्तरता सहितको परिवर्तन जरुरी भएको समेत थापाले बताए ।
कुनै पनि देशले आफ्नो धर्म ,संस्कृति, मूल्य मान्यताको रक्षा बिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा नहुने थापाको दाबी थियो ।
कार्यक्रममा डाक्टर विष्णु भण्डारी, राजाराम बर्तौला “चुनेली”, सुदर्शन केसी लगायतले पनि आफ्नो भनाई राखेका थिए ।