काठमाडौँ, ६ भाद्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि राजसंस्थाको महत्त्वपूर्ण योगदान रहेको भन्दै अभिभावकको रूपमा सहमति मै राजसंस्था राख्न आग्रह गरेका छन् ।
राप्रपा नेपाल काठमाडौँ -८ क्षेत्रीय समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले
धर्म, संस्कृति, मूल्य, मान्यता मासेर देश विकास नहुने भएकोले सनातन धर्मको संरक्षण गर्दै हिन्दु राष्ट्र बनाउनु पर्नेमा जोड दिए ।
युवाहरूको भविष्य बरबाद गर्ने अहिलेको व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई संस्थागत गरेको समेत आरोप लगाए ।
भ्रष्ट तन्त्र र व्यवस्था धेरै लामो समय नटिक्ने समेत उनले बताए । कुशासन भ्रष्टाचार गरेर देशलाई बरबाद गर्ने भ्रष्ट व्यवस्था र शासकको अन्त्यको लागि नेपाली जनता जुरमुराउनु पर्ने समय आएको भन्दै थापाले बलियो राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजसंस्थाबादि शक्ति बनाउने हो भने राप्रपा नेपाल बलियो बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा डाक्टर विष्णु भण्डारी, राजाराम बर्तौला, प्रदीप कार्की, उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।