काठमाडौँ, १३ भाद्र । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउँदै गरेको तीज मनाउने क्रममा अनावश्यक तड्क भड्क नगर्न आग्रह गरेको छ ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको हो ।
साथै प्रशासनले अनावश्यक तड्क भड्क र खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरी कानुन अनुसार कारबाही हुने स्पष्ट गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गर्दछ ।