विर्तामोड (झापा), ८ भाद्र । झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालबाट भाद्र ५ गते फरार भएका थुनुवा पक्राउ परेका छन् ।
भाद्र २ गते बिर्तामोड-१ पश्चिम बस पार्कबाट १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका २५ वर्षीय बिशाल राईको स्वास्थ्यमा समस्या देखिएपछि भाद्र ४ गते विर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
उपचारको लागि अस्पताल पुर्याइएका राई त्यसको भोलीपल्ट हातमा लगाइएको हत्कडी फुस्काएर फरार भएका थिए ।
उनी दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए।
फरार भएका राईलाई आज ११ बजे झापाको अर्जुनधारा-११ मा रहेको घिसिङ मोटर साईकल ग्यारेज छेउबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए ।
राई फरार हुनुअघि उनको सुरक्षामा इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए।