काँकडभिट्टा (झापा), ३ भाद्र । अवैधरुपमा नेपालबाट भारततर्फ निकास हुन लागेको सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज साँझ ५:०० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले मेचिनगर -६ पिङकी ठ्याकबाट ३०० केजी सुपारी बरामद गरेको हो ।
प्रहरीलाई देखेपछि सुपारी तस्करीहरू सामान त्यहीँ छाडेर फरार भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
बरामद सुपारीको अनुमानित बजार मूल्य दुई लाख ७० हजार रुपैयाँ रहेको बताइएको छ । उक्त सुपारीलाई मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसी कृष्ण कुमार चन्दले केटिएम दैनिकलाई बताए ।
नेपालबाट अवैध रुपमा केराउ सुपारी लगायतका सामानहरू भारतमा निकासी हुने गर्दछन् ।