काठमाडौँ ।नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई मंगलबार बर्खास्त गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी मंगलबारका मितिदेखि बर्खास्त गर्ने निर्णय गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।
लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले केसीलाई फौजदारी कसूर अन्तर्गत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा बर्खास्तमा परेका उनी दोस्रो डिएसपी हुन यसअघि रुपकुमार न्यौपाने बर्खास्तमा परेका थिए ।