काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्री नियुक्ति भएका थिए ।
मुख्यमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । तर, कार्कीले विश्वासको मत पाउने अवस्था अहिलेसम्म देखिएको छैन ।
राजनीतिमा कुनै चमत्कार नभए अहिलेसम्म उनले विश्वासको मत पाउने स्पष्ट आधार छैन ।
त्यसपछि बन्ने संविधानको धारा १६८ को उपधारा (५) अनुसारको सरकार कस्तो हुने ? कसको नेतृत्वमा बन्ने भन्ने विषय चासोका साथ हेरिएको छ ।
कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर, एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् ।
यसअघि पनि मुख्यमन्त्री बनेकाका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन नसकेका कारण उनी बाहिरिएका थिए ।
प्रदेशमा १ मा ९३ सीट रहेकोमा सरकार बनाउन कम्तीमा ४७ सीट आवश्यकता पर्छ । सो प्रदेशमा एमालेले ४० सिट ल्याएको भएता पनि अन्य दलसँग सहकार्य नगरीकन सरकार बन्दैन ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस (२९ सीट) , नेकपा (माओवादी केन्द्र) (१३ सीट) र नेकपा (एकीकृत समाजवादी) (चार सीट) जोड्दा सरकार बनाउन चाहिने ४७ सिट पुग्दैन । एक सिट पाएको जसपा जता ढल्कियो त्यसको नै सरकार बन्ने देखिन्छ । एमाले र राप्रपा मिल्दा पनि ४६ सीट मात्र भएपछि प्रदेश १ को सरकार बनाउन जसपा निर्णायक देखिएको छ ।
प्रदेश १ काे प्रदेशसभा निर्वाचनमा दलहरुको अवस्था
राजनीतिक दल | पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित सदस्यहरुको संख्या | कुल सदस्य संख्या |
---|---|---|---|
नेकपा (एमाले) | २५ | १५ | ४० |
नेपाली कांग्रेस | १७ | १२ | २९ |
नेकपा (माओवादी केन्द्र) | ९ | ४ | १३ |
नेकपा (एकीकृत समाजवादी | ३ | १ | ४ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | २ | ४ | ६ |
जनता समाजवादी पार्टी | — | १ | १ |
कूल सङ्ख्या | ५६ | ३७ | ९३ |