इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका-६ बाट एक युवक हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय वर्ष १८ को राम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राज कुमार राईले बताए ।
घरमा हतियार (कटुवा पेस्तोल) लुकाएर राखेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय (इप्रका) दुहबीबाट प्रहरी निरीक्षक मोहन पोखरेलको कमान्डमा टोली खटिएको थियो ।
उक्त टोलीले आइतबार (हिजो) राती बेलाहा टोलमा रहेको चौधरीको घरमा खानतलासी गर्दा उनी बस्ने कोठामा लुकाएर राखेको कटुवा पेस्तोल बरामद भएको हो ।
पेस्तोलसँग त्यसमा लाग्ने एक राउन्ड गोलीसमेत बरामद भएको प्रवक्ता राईले बताए ।
उक्त समयमा चौधरी भने घरमा भेटिएका थिएनन् ।
प्रहरी घरमा आएको सुइँको पाएपछि फरार भएका चौधरीलाई आज बिहान बर्जु गाउँपालिका-५ वाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई इप्रका दुहबीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेका चौधरीउपर अवैध हातहतियार ओसारपसार एवं भण्डारण मुद्दामा अदालतबाट आजको मितिले पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।