पर्वत । घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैंचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।
परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिना बनेका छन्। दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताए। उनको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।
एपि सेरेना जातको मौरी पालेका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए। सुरुमा चिसोले ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताए।
उनले वर्षमा दुई पटक मह निकाल्छन्। विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थालेका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । तिमिल्सिना भन्छन्, “ मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिंड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।”
उनले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्छन् । उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए । उनी भन्छन्, “कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटवललगायतका क्षेत्रबाट व्यवसायी घरमै आएर लैजान्छन् ।”
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिए। उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्छन्। मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ ।
विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनमा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए । तिमिल्सिनाले सोही स्थानमा तीन सय सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैंचा पनि बनाए।
तर, सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखेपछि उनी मौरीपालनतर्फ आकर्षित भएका हुन्। तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नु नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताउँछन्।
उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।