काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतवार ‘नागरिक बचतपत्र २०८५’ को बिक्री खुला गर्ने भएको छ ।
नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्काशन गर्न लागेको हो । पाँच वर्ष अवधिको बचतपत्रका लागि १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ ।
बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । यही वैशाख २४ देखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्काशन हुनेछ । लगानीकर्ताले घटीमा रू १० हजार र बढीमा कूल निष्काशित रकमको सीमासम्म रू १० हजारले निशेष भाग जाने अङ्क बराबरको बचतपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो बचतपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिनेछ । नागरिक बचतपत्र खरीद गर्न चाहने इच्छुक खरीदकर्ताले नेपाल राष्ट्र बैङ्कको वेभसाइटमा रहेको अनलाइन प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।
आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सक्नेछन् ।
लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ । यदि नखुलाइएको भए राष्ट्र बैङ्कले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । यद्यपि लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ ।