विराटनगर । कारबाहीमा परिने डरले सैनिक अस्पतालबाट राजीनामा दिएका एक डाक्टरलाई विराटनगरको नोबेल अस्पतालले संरक्षण गरेको आरोप लागेको छ।
‘ढाँटेर’ सुनसरीको इटहरीस्थित पूर्वी पृतनाअन्तर्गत सैनिक अस्पतालमा जागिर पाएका डा. अञ्जनीकुमार झालाई प्रतिनिधिसभा सदस्यसमेत रहेका सुनील शर्माको नोबेल अस्पतालले संरक्षण गरेको आरोप लागेको हो ।
महिला हिंसा, जबरजस्ती करणी र वैवाहिक करणीजस्ता मुद्दा लागेका डा. झा गत वर्षको पुस दोस्रो साता सैनिक अस्पताल, इटहरीमा नियुक्त भएका थिए। जबकि, फौजदारी मुद्दा लागेका व्यक्तिले सैनिक अस्पतालको नियुक्ति लिन पाउँदैन।
पुस ८ गते नेपाली सेनाले करार सेवामा खुलाएको आवेदनको नियममै ‘फौजदारी’ मुद्दा लागेका व्यक्तिले आवेदन भर्न नपाउने उल्लेख गरिएको थियो। सेनाले स्थायी नियुक्ति दिँदा मात्र प्रहरी रिपोर्ट माग्ने गरेको छ। करार सेवाका लागि प्रहरी रिपोर्ट आवश्यक नपर्ने भएपछि डा. झाले ‘झुठो’ विवरण पेश गरेका थिए।
‘एक मेरी श्रीमती र एक छोरी छिन्, ममाथि कुनै अभियोग छैन’ भनेर डा. झाले इन्टरनल मेडिसिन कन्सल्टेन्टका रूपमा तीन महिना काम गरे। जबकि, जबरजस्ती करणीपछि जेल चलान भएका उनले पीडितलाई ‘होस्टाइल’ बनाएर बिहे गरेका थिए। पछि उनले वैवाहिक करणीको मुद्दा पनि खेप्नु परेको थियो।
त्यति मात्र नभएर झा र उनको परिवारविरुद्ध मोरङ जिल्ला अदालतमा गर्भसंरक्षणविरुद्धको मुद्दासमेत चलिरहेको छ। डा. झाकै कारण अहिले पीडित महिला र बलात्कारबाट जन्मिएको सन्तानको पनि कन्तबिजोग छ।
धनकुटा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा परेपछि जाहेरवालीसँग विवाह गर्ने भनेर डा. झाले उन्मुक्ति पाएका थिए। पछि पुनः वैवाहिक जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतको गत वर्षको जेठ १८ गतेको आदेशानुसार डा. झा तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
उनै पीडित महिलाले फौजदारी मुद्दा झेलेका डा. झालाई सेनामा जागिर दिनुको कारण माग गर्दै चैत गत वर्षको २७ गते निवेदन दिएकी थिइन्। निवेदन परेको दोस्रो दिन नै डा. झाले कारबाहीमा परिने डरले राजीनामा दिएका थिए। उनको राजीनामापछि नेपाली सेनाले परीक्षा समिति गठन गरेर यसबारे थप अनुसन्धान गरिरहेको छ।
सेनाले सोमबार पीडित महिलालाई बोलाएर सोधपुछ गरेको थियो। सैनिक मुख्यालय काठमाडौँका प्रतिनिधि, कल्याणकारी योजना निर्देशनालयका प्रतिनिधिसहितको टोलीले फौजदारी मुद्दामा मुछिएको हुँदाहुँदै डा. झाले तीन महिना सरकारी सुविधा थापेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको स्रोतले जनाएको छ।
तथापि, सेनाका सूचना अधिकारी तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले भने यो विषयमा आफू जानकार नरहेको बताए। ‘करारमा नियुक्ति दिने भनेको कल्याणकारी योजना निर्देशनालयले हो,’ उनले भने, ‘यसबारे मलाई खासै थाहा भएन। म यो केस र हुनसक्ने कारबाहीबारे जानकारी लिएर तपाईँलाई भन्छु।’
आर्मी अस्पतालबाट राजीनामा दिएका डा. झा केही दिन अघिमात्र नोबेल अस्पतालको इन्टरनल मेडिसिन डिपार्टमा नियुक्त भएका हुन्। आफैँ नियमविपरीत गएर आर्मी अस्पतालमा नियुक्त भएका डा. झाले नोबेलमा उल्टै पीडित महिलाको चरित्रहत्या हुनेगरी बोल्न थालेको पीडितको गुनासो छ।
‘गोपनीयता कायम गर्नु भनी पीडितलाई अदालत सांकेतिक नाम दिएको हुन्छ, अदालतको त्यो नियम सबैले पालना गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘तर, उहाँले सबै नियम तोडेर मलाई बदनाम गर्ने गरी सार्वजनिक स्थलमै नाम लिइरहनुभएको छ। मलाई पीडामाथि पीडा थोपरिएको छ। मेरी सानी छोरी छिन्, त्यसको पनि ख्याल गर्नुपर्दैन र?’
नोबेल भन्छ : श्रीमान्–श्रीमती मिलेको राम्रो
डा. झाले आफूमाथि झन् पीडा थोपरेको विषयमा पीडितले सङ्घीय सांसदसमेत रहेका सुनील शर्मा र नोबेल अस्पतालका निर्देशक राजेश नेपालसँग कुरा गरिसकेकी छन्। तर, उनीहरूले भने गैरजिम्मेवारपूर्ण जबाफ दिएको पीडितको गुनासो छ।
पीडितका अनुसार दुवै जनाले उनीहरूलाई मिल्न दबाब दिइरहेका छन्। पीडित र डा. झा पुनः एक हुनुपर्ने शर्मा र नेपालको भनाइ रहेको पनि उनले बताएकी छन्। दुवै जनाले यो मुद्दालाई गम्भीर रूपमा नलिएको उनको दाबी छ।
पीडितको प्रश्न छ : ‘पटक–पटक म उहाँबाट पीडित भएकी छु, अनि अर्को कुरा अदालती मुद्दाका चक्रबीच उहाँहरूले कसरी भन्न सक्नुहुन्छ कि मिल भनेर? जनताको प्रतिनिधि भएर सुनील शर्माले यस्तो कुरा गर्न सुहाउँछ? डा. नेपालले पनि कत्तिको सहजै भन्न सक्नुभएको? यस्तो मुद्दामा मिल भन्नु पीडकलाई संरक्षण गरी अपराधलाई बढवा दिनु होइन र?’
यता, डा. शर्माले यस विषयमा थप बुझेर अस्पतालका निर्देशकसँग छलफल गर्ने बताएका छन्। तथापि, श्रीमान्–श्रीमती मिलेर अगाडि बढ्न सकेमा सन्तानसहित दुवै जनाको भविष्य सुध्रिने उनको भनाइ छ।
अस्पताल निर्देशक डा. नेपालले भने पारिवारिक कलहलाई भरिसक्दो मिलाएर जानुपर्ने भएकाले आफूले मिल्न आग्रह गरेको बताए। ‘अदालतमा मुद्दा चलिरहेको अवस्थामा हामीले कसैलाई जागिर नै नदिनु भन्ने छैन,’ उनले भने, ‘पछि अदालतले दोषी ठहर गर्यो भने हामीले कारबाही गरौँला। तर भरिसक्तो पारिवारिक झगडा अन्त्य गरेकै राम्रो हो। यसले कसैलाई पनि फाइदा गर्दैन।’